सिभिल अस्पतालको एउटै बिलमा ११ हजार झ्वाम, मिलेमतोमा को-को संलग्न ?

अस्पतालले नक्कली बिल दियो , बिमाले फर्कायो, सयौंको हिनामिना भएको आशङ्का

No ads found for this position
No ads found for this position

काठमाडौं । सिभिल अस्पतालमा सुत्केरी उपचार गराएकी एक महिलाको परिवार अस्पतालको बिलिङ प्रक्रियालाई लिएर समस्यामा परेको छ।

अस्पतालले उपलब्ध गराएको उपचार बिल बिमा कम्पनीमा पेस गर्दा ‘ओरिजिनल बिल नभएको’ भन्दै फिर्ता भएपछि परिवारले अस्पतालसँग सक्कल बिल माग्दा लामो समयसम्म स्पष्ट जवाफ नपाएको गुनासो छ।

गत साउन २१ गते सुत्केरी हुन सिभिल अस्पताल पुगेकी महिलाको उपचारपछि अस्पतालले परिवारलाई उपचारसम्बन्धी बिल उपलब्ध गराएको थियो। उक्त बिल बिमा कम्पनीमा भुक्तानीका लागि पेस गर्दा कम्पनीले बिल प्रतिलिपि भएको भन्दै सक्कल बिल मागेको परिवारको भनाइ छ।

बिमा कम्पनीले प्रतिलिपि बिल स्वीकार नगरेपछि परिवारले अस्पतालसँग सक्कल बिल उपलब्ध गराइदिन माग गर्दै निवेदन दिन खोजेको थियो। तर, पटक–पटक अस्पताल धाउँदा पनि सुनुवाइ नभएपछि परिवारले हेलो सरकारमा समेत उजुरी गरेको जनाएको छ।

परिवारका अनुसार त्यसपछि उनीहरूले दिएको निवेदन अस्पतालले भदौ १० गते दर्ता गरेको थियो। तर, निवेदन दर्ता भएको लामो समय बितिसक्दा पनि अस्पताल प्रशासनबाट यस विषयमा स्पष्ट जवाफ नआएको उनीहरूको गुनासो छ।

उपचार खर्चभन्दा बिलमा करिब ११ हजार कम ?

पीडित परिवारले अस्पतालले उपलब्ध गराएको बिल र वास्तविक उपचार खर्चबिच करिब ११ हजार रुपैयाँको फरक रहेको दाबी गरेको छ। परिवारका अनुसार वास्तविक उपचार खर्चभन्दा कम रकम उल्लेख भएको बिल अस्पतालबाट उपलब्ध गराइएको थियो।

यसले अस्पतालको बिलिङ प्रणाली तथा बिल तयार गर्ने प्रक्रियामाथि प्रश्न उठाएको परिवारको भनाइ छ।

अस्पताल भन्छ- ‘बिलिङमा त्रुटि भेटिएको छ, छानबिन भइरहेको छ’

यस विषयमा नागरिक प्रेसले सिभिल अस्पताल प्रशासनसँग बुझ्दा प्रशासन विभागकी कर्मचारी रन्जु रेग्मीले बिलिङमा गम्भीर त्रुटि भएको पाइएको र त्यसबारे छानबिन भइरहेको बताइन्।

रेग्मीका अनुसार केही कर्मचारीले दुई/तीन महिनादेखि सिस्टम प्रयोग गर्ने क्रममा बिलिङमा त्रुटि गरेको पाइएको छ। उनले दुई जना कर्मचारीलाई निलम्बनको प्रक्रिया अघि बढाइएको र अन्य बिलिङसमेत छानबिनको दायरामा रहेको जानकारी दिइन्।

उनले भनिन्, ‘केही कर्मचारीले २/३ महिनाअघिदेखि सिस्टमको प्रयोग गरेर बिलिङमा त्रुटि गरेको पाइयो। २ जना कर्मचारीलाई हामीले निलम्बन गर्न लागेका छौं। यो मात्र होइन, अरू पनि धेरै बिलिङमा त्रुटिहरू पाइएको छ। हामी सबैलाई कारबाही गर्छौं।’

रेग्मीले त्रुटिमा संलग्न कर्मचारीमाथि कारबाहीसँगै आवश्यक रकम असुल गरिने र पीडितले पाउनुपर्ने रकमसमेत फिर्ता गरिने बताइन्।

बिलिङ प्रणालीमै प्रश्न

एकातिर बिमा कम्पनीले अस्पतालबाट उपलब्ध गराइएको बिललाई सक्कल नभएको भन्दै फिर्ता गरेको परिवारको दाबी छ भने अर्कोतर्फ अस्पताल प्रशासनले आफ्नै बिलिङ प्रणालीमा त्रुटि भएको स्वीकार गर्दै छानबिन भइरहेको जनाएको छ।

यही घटनाले सिभिल अस्पतालको बिलिङ प्रणाली, बिलको अभिलेख तथा बिरामीलाई उपलब्ध गराइने कागजातको विश्वसनीयतामाथि प्रश्न उठाएको छ।

पीडित परिवारले भने अस्पतालको बिलिङ प्रक्रियामा अनियमितता भइरहेको बताउँदै अस्पतालबाट गलत बिल तयार गरी करोडौं रकम हिनामिना भएको हुनसक्ने आरोप लगाएको छ।

अस्पतालले किन सक्कल बिल उपलब्ध गराएन ? बिमा कम्पनीले बिल किन अस्वीकार गर्‍यो ? बिलमा उल्लेख भएको रकम र वास्तविक उपचार खर्चबीच फरक किन देखियो ? र अस्पतालको बिलिङ सिस्टममा कति समयदेखि तथा कति बिलमा त्रुटि भएको छ ? यी प्रश्नको जवाफ अझै स्पष्ट हुन बाँकी छ।

अस्पताल प्रशासनले भने यस विषयमा विस्तृत अध्ययन तथा छानबिन भइरहेको र आफ्नो आधिकारिक धारणा भोलीसम्ममा सार्वजनिक गर्ने जनाएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *