हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा कोही जित्ने र कोही हार्नेभन्दा पनि सबैलाई जिम्मेवारी र अवसर प्रदान गर्दै अघि बढ्नुपर्ने बताएका छन्।

स्याङ्जामा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले कांग्रेस चार पुस्ताको पार्टी भएको र केन्द्रीय समितिमा प्रतिस्पर्धा गरेका तथा वडा र क्षेत्रदेखि विभिन्न तहमा जिम्मेवारी प्राप्त गर्न नसकेका हरूलाई अन्य जिम्मेवारी दिएर सक्रिय बनाइने बताए।

थापाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा एक जनाले जित्ने र अर्कोले हार्ने भन्ने नहुने बताए।

थापाले भने- ‘हामी सबै समान हैसियत राख्छौँ। मैले अहिले प्राप्त गरेको कुरा जिम्मेवारी मात्र हो, यो स्थायी पद होइन।’

उनले क्षेत्रीय, जिल्ला, प्रदेश र केन्द्रमा जिम्मेवारी प्राप्त गर्न नसकेका कार्यकर्तालाई लामो समयसम्म भूमिकाविहीन बनाएर राख्ने परिपाटी अन्त्य गर्नुपर्नेमा जोड दिए। काम गर्ने इच्छा, क्षमता र योग्यता भएका साथीहरूलाई विधानअनुसार पार्टीका विभिन्न तहमा जिम्मेवारी दिइने उनले बताए।

पार्टीभित्र पदका आधारमा ठूलो सानो ठान्ने, आसन ग्रहण र प्राथमिकताका विषयमा विभेद गर्ने परम्परालाई समेत परिवर्तन गर्नुपर्ने बताए।

पार्टीका आगामी अधिवेशन र आन्तरिक संरचनाबारे अनावश्यक चिन्ता गर्नुभन्दा तत्काल जनतामाझ पुग्नुपर्नेमा जोड दिए। नयाँ समितिले नयाँ सोच र प्रतिबद्धतासहित जनतासँग सम्बन्ध विस्तार गर्नुपर्ने बताए।

मंसिर महिनाभित्रै पार्टीबाट टाढिएका परिवार तथा मतदाताको घरसम्म पुग्ने अभियान सञ्चालन गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे। उनले थपे, ‘पहिले कांग्रेसमा रहेका तर अहिले पार्टीमा नरहेका परिवारलाई भेट्नुपर्छ, चिन्नुपर्छ र उनीहरूको घरमा पुग्नुपर्छ।’

कांग्रेसबाट टाढिएका करिब १० लाख मानिससम्म पुग्ने लक्ष्यसहित पार्टीले काम गर्नुपर्ने बताए। पार्टीका संस्थापक नेताहरूले स्थापित गरेका मूल्य र मान्यताबाट विचलित नभई वर्तमान समयका चुनौती र युवापुस्ताका प्रश्नको सम्बोधन गर्न सक्ने कांग्रेस निर्माण गर्नुपर्ने उनले बताए।

आन्तरिक प्रतिस्पर्धाको चरण सकिएकाले अब पार्टी एकढिक्का भएर सङ्गठन सुदृढीकरण र जनताको विश्वास जित्ने अभियानमा लाग्नुपर्ने बताए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *