‘नेपाल–चीन सम्बन्धलाई नयाँ सिराबाट विकास गर्नुपर्छ’
काठमाडौं । नेपाल–चीन सम्बन्धलाई नयाँ सिराबाट विकास गर्नुपर्नेमा विज्ञ तथा सरोकारवालाहरुले जोड दिएका छन् । चीन अध्ययन गरिरहेका र अध्ययन सकेर स्वदेश फर्किएका विद्यार्थीहरुले यसको अगुवाई गर्नुपर्ने उनीहरुको भनाइ छ ।
नेप्लिज स्टुडेन्ट अर्गनाइजेशन (एनएसओ, चाइना) ले भक्तपुर दधिकोटस्थित काठमाडौं स्कुल अफ ल को सभाहलमा आयोजना गरेको ‘नेपाल–चाइना एजुकेसन कनेक्टिभिटी २०२६’ कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा रास्वपा सांसद जगदीश खरेलले विकसित देशहरुबाट नेपालले धेरै सिक्न जरुरी भएको बताए । उनले सुशासन, विकासका साथै हरेक पक्ष सिकेर आँफु अनुकुल कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।
नेपालस्थित चिनियाँ दुतावासका डेपुटी चिफ अफ मिसिन एण्ड मिनिस्टर–काउन्स्लर झोउ पनले नेपाल चीन सम्बन्धलाई उचाइमा लैजान चीन सदैब तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
नेपालका लागि पूर्व राजदुत महेन्द्रबहादुर पाण्डेले युरोप र अमेरिकाभन्दा नेपाली विद्यार्थीहरुले चीन गएर अध्ययन गर्नुपर्नेमा जोड दिए । युरोप अमेरिकामा उतै भाँसिने तर चीन अध्ययन गरेर नेपाल फर्कने बाध्यता रहने वनको तर्क थियो ।
नेपालका लागि पूर्व राजदुत डा. महेशकुमार मास्केले अबको दशकमा चीन कहाँ पुग्न सक्छ भन्ने उल्लेख गर्दै नेपालीहरुले चीनको प्रशंशा गरेर बस्ने भन्दा पनि कसरी त्यहाँ पुग्यो भन्ने कुराको मनन गर्नुपर्ने बताए ।

अन्तराष्ट्रिय कानूनका ज्ञाता प्रा. डा. संग्रौलाले नेपाली मनोविज्ञान र शैलीमा परिवर्तन नआएसम्म अन्तराष्ट्रिय सम्बन्ध मजबुत पार्न र देश बनाउन समेत गाह्रो हुने उल्लेख गरे । उनले कसरी चीनको प्रविधि नेपाल भित्र्याउने र नेपालको उत्पादन चीन निर्यात गर्ने भन्ने कुरामा बहस केन्द्रित हुनुपर्ने कुरामा जोड दिए । चीन पढेका, चीनमा पढाउने र चीन बुझ्नेहरुको मञ्च खडा गरी सरकार र चीनलाई समेत स्पष्ट कुरा राख्नुपर्ने उनको भनाई छ ।
लुम्बिनी विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. सुवर्णलाल बज्राचार्यले चीनलगायत छिमेकी र मित्रराष्ट्रहरुसँग माग्ने मात्र नभएर हामीले दिनसक्ने कुरामा पनि ध्यान दिनुपर्ने बताए । नेपालले सँधै सुनको कचौरा बोकेर मागिरहेको उनको टिप्पणी थियो ।
नेपाल र चीनबीचको शैक्षिक सम्बन्धलाई थप सुदृढ बनाउने कुरामा वक्ताहरुको जोड थियो । शैक्षिक अवसरहरूको विस्तार गर्ने तथा दुवै देशबीच ज्ञान, अनुभव र सीपको आदानप्रदान प्रवद्र्धन गर्नुपर्ने वक्ताहरुको भनाइ थियो ।
नेप्लिज स्टुडेन्ट अर्गनाइजेशन (एनएसओ चाइना) का संस्थापक बोर्ड अध्यक्ष मनोजकुमार भट्टले नेपाल–चीन सम्बन्धलाई दीर्घकालीन र परिणाममुखी बनाउन शैक्षिक सहकार्य तथा युवा पुस्ताबीचको सम्बन्ध विस्तार महत्त्वपूर्ण रहेको बताए ।
एनएसओ चाइनाले चीन अध्ययन गर्न चाहने विद्यार्थीका लागि निशुल्क काउन्सिलिङ गर्ने, विद्यार्थीहरुलाई संगठित गर्ने, चीनको प्रविधि र नेपालको विकासबारे अध्ययन अनुसन्धान गरी देश निर्माणमा योगदान पुर्याउने लगायतका महत्वपूर्ण लक्ष्य लिएको छ ।





