हनुमानढोकाको दशैंघरमा राखियो जमरा (तस्बिरहरू)
काठमाडौं । हिन्दुहरुको महान् चाड बडा दशैं आज (आइतबार) बाट सुरु भएको छ । यस अवसरमा काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा विधिवत् रुपमा जमरा राखिएको छ । आज बिहान ११:४७ मिनेटको शुभसाइतमा दशैं घरमा जमरा राखिएको हो ।

घटस्थापनाका दिन वैदिक विधिअनुसार पूजा गरी जौ, मकै, गहुँलगायत अन्न छरेर जमरा राख्ने परम्परा छ। सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मङ्गल धून बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको छ । दशैंको पहिलो दिन घटस्थापनको अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ । आइतबार बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा जमरा छर्ने गरिन्छ ।

घटस्थापना गर्दा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दीप, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजाअर्चना गरिन्छ ।






