बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, ४ जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । बुढीगण्डकी नदीमा लेदोसहित बाढीले नदी आसपासका बस्ती, पदमार्ग, पुल, जलविद्युत् आयोजना तथा अन्य संरचनामा क्षति पुगेको छ।
बाढीले सम्म ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीनभएका छन्। बाढीले धादिङको त्रिपुरासुन्दरी र गोरखाको आरुघाटस्थित सोती र मान्बु जोड्ने पक्की पुल बगेको छ।
साथै आरूघाटस्थित मध्यपहाडी लोकमार्गमा पर्ने पुल पनि बूढीगण्डकीले बगाएको छ। यस्तै धार्चे गाउँपालिका १ हुल्चोक र ३ उहिया जोड्ने बेलिब्रिज , धार्चे ५ माछीखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ।
चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन्।
बाढीका कारण निर्माणाधीन ४ जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
बाढीले आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण, सामग्री, बेलिब्रिज तथा पहुँच सडकमा क्षति पुर्याएको छ ।
प्रारम्भिक विवरणअनुसार टाइम्स इनर्जी प्रालिद्वारा प्रवर्द्धित ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ । साथै, केही निर्माण उपकरणसमेत बगाएको विवरणमा उल्लेख छ ।
त्यसैगरी, २४.५ मेगावाट क्षमताको दोभान खोला जलविद्युत् आयोजना, ३०.५९ मेगावाट क्षमताको यारु खोला जलविद्युत् आयोजना र १६ मेगावाट क्षमताको माछा खोला जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ ।
बाढीका कारण केही आयोजनाका क्याम्प क्षेत्रका घरमा क्षति पुगेको, बेलिब्रिज बगाएको तथा केही पुलमा क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख छ । यस्तै, निर्माण सामग्री तथा उपकरण बगाएको र आयोजना स्थलसम्म पुग्ने पहुँच सडक तथा पुलमा समेत क्षति पुगेको जनाइएको छ ।





