एआईजी दाहाललाई सेवाबाट बर्खास्त गर्न सिफारिस
काठमाडौं । प्रधानमन्त्रीसहित उच्च राजनीतिक नेतृत्वको गोप्य सुरक्षा सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरी बलका निलम्बित एआईजी वंशीराज दाहाललाई कारबाहीको सिफारिस भएको छ।
गोप्य सुरक्षा सूचना चुहाएको आरोप खेपिरहेका दाहालमाथि सेवाबाट बर्खास्त गर्नेसम्मको कारबाही सिफारिस भएको छ। उनलाई निलम्बन गरेर छानबिन सुरु गरिएको थियो।
छानबिनको नेतृत्वकर्ता अर्का एआईजी अञ्जनीकुमार पोखरेलले बिहीबार गृह मन्त्रालयमा प्रतिवेदन बुझाएका छन्। प्रतिवेदनमा एआईजी दाहालले आचरण विपरीतको कार्य गरेको निष्कर्षसहित सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार कारबाही गर्न सिफारिस गरिएको छ।
नियमावलीको दफा ११० मा सजायसम्बन्धी व्यवस्था छ । त्यसको (क) मा सामान्यस सजाय राखिएको छ भने (ख) मा विशेष सजायको प्रावधान छ।
विशेष सजायमा भविष्यमा सहकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने र भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्ने भनिएको छ। त्यसक्रममा निलम्बित एआईजी दाहालको बयानसमेत समावेश गरिएको छ। उनलाई विचौलिया इनम सापकोटासँग नियमित रुपको सम्पर्कबारे सोधिएको छ ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको सम्बन्धबारे समेत सोधिएको छ। जवाफमा दाहालले सापकोटासँग पूर्वचिनजान भएको र कुराकानी हुने गरेको स्वीकार गरे पनि आचरणविपरीतको कुनै कार्य नगरेको दाबी गरेका छन्।





