चुनावी मैदानमा ससुरा-बुहारी: महाधिवेशनमा कुशश्री र मेलीको बलियो दावेदारी
काठमाडौं । नेपाली कांग्रेसको आसन्न १५औं महाधिवेशनको चुनावी सरगर्मी देशभर बढिरहेका बेला एउटै परिवारका दुई प्रभावशाली सदस्य चुनावी मैदानमा उत्रिएपछि राजनीतिक वृत्तमा यसको विशेष चर्चा सुरु भएको छ । नेपाली कांग्रेसका पुराना, निष्ठावान र त्यागी नेता ससुरा कुशश्री न्यौपाने र प्रखर प्रविधिज्ञ एवं युवा नेतृ बुहारी ई. मेली शाह यतिबेला चुनावी मैदानमा भोट माग्न व्यस्त देखिनुभएको छ।
बि.पी. र गणेशमानको छत्रछायाँदेखि जेल जीवनसम्म: कुशश्री न्यौपाने
पार्टीभित्र ‘त्याग र समर्पणको पर्याय’ मानिने कुशश्री न्यौपाने (क्रम संख्या ०५) केन्द्रीय सदस्य (अपाङ्गता तर्फ) का उम्मेदवार हुनुहुन्छ । वि.सं. २०३५ सालदेखि नै नेपाली कांग्रेसमा अनवरत रुपमा सक्रिय न्यौपानेले नेपाली राजनीतिक इतिहासका शिखर व्यक्तित्वहरू बि.पी. कोइराला, सर्वमान्य नेता गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई (किसुनजी) सँग नजिक रहेर काम गर्नुभएको छ ।
पञ्चायतकाल र प्रजातन्त्र पुनस्र्थापनाका विभिन्न आन्दोलनहरूमा उहाँले अनेकौं राजनीतिक अवरोध, धरपकड र जेल जीवनको कठिन संघर्ष भोग्नुभएको छ । पार्टीभित्र ‘अनुभव, प्रतिबद्धता र समावेशी नेतृत्व’ का लागि उहाँको उम्मेदवारीलाई निकै महत्वका साथ हेरिएको छ । लामो समयसम्म ओझेलमा परेका इमानदार कार्यकर्ताहरूको प्रतिनिधित्व गर्दै उहाँ यसपटक चुनावी मैदानमा उत्रनुभएको हो ।
नेविसंघको विरासत बोकेकी डोल्पाकी चेली: ई. मेली शाह
त्यस्तै, उहाँकी बुहारी आर्किटेक्ट ई. मेली शाह (क्रम संख्या ०३) नेपाली कांग्रेसको केन्द्रीय सदस्य (पेशागत महिला क्लस्टर) मा उम्मेदवारी दिएर चुनावी मैदानमा हुनुहुन्छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय सदस्य भई सडकदेखि नीतिगत तहसम्म सक्रिय रहनुभएकी शाह डोल्पा जिल्लाबाट प्रतिनिधित्व गर्नुहुन्छ ।
दुर्गम क्षेत्र डोल्पाबाट आएर राष्ट्रिय राजनीतिमा आफ्नो दह्रो पहिचान बनाएकी मेली शाह शिक्षित, युवा र जुझारु नेतृको रूपमा चर्चित हुनुहुन्छ । पेसाले आर्किटेक्ट इन्जिनियर समेत रहेकी शाहले पार्टीभित्र युवा पुस्ताको सहभागिता, महिला सशक्तिकरण र नीतिगत सुधारका एजेन्डाहरू अघि सार्नुभएको छ ।
ससुरा–बुहारीको चुनावी अभियानले कार्यकर्तामा उत्साह
एउटै परिवारबाट इतिहास र वर्तमानको प्रतिनिधित्व गर्दै ससुरा–बुहारी चुनावी मैदानमा उत्रिएपछि महाधिवेशन प्रतिनिधिहरूमा यसले छुट्टै रौनकता थपेको छ । एकातिर इतिहास र संघर्षको लामो अनुभव बोकेका ससुरा कुशश्री न्यौपाने छन् भने अर्कोतिर प्राविधिक ज्ञान र युवा जोस बोकेकी बुहारी ई. मेली शाह छिन् ।
दुवै उम्मेदवार आ–आफ्नो क्लस्टरमा अत्यन्तै लोकप्रिय र बलिया प्रतिस्पर्धी मानिएका छन् । “हामीले पार्टीको लागि हिजो पनि रगत–पसिना बगाएका हौं र आज नयाँ पुस्तालाई साथमा लिएर पार्टीलाई थप सुदृढ बनाउन चुनावी मैदानमा आएका छौं,” भन्दै दुवै जना साझा एजेन्डा र उत्साहका साथ प्रतिनिधिहरूसँग मत मागिरहेका छन् ।
नेपाली कांग्रेसको यो महाधिवेशनमा यस ससुरा–बुहारीको उम्मेदवारी र उनीहरूले पाउने परिणामलाई निकै चासोका साथ हेरिएको छ ।





