अल्गोरिदमबाट सत्तामा आएकाहरूले नेपाललाई युक्रेन बनाउने दिशातर्फ लगे : आङ्देम्बे
काठमाडौं । नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले अल्गोरिदमबाट सत्तामा आएकाहरूले नेपाललाई युक्रेन बनाउने दिशातर्फ लागेको आरोप लगाएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्र समापन कार्यक्रममा बोल्दै उनले बहुमतको नाममा अल्गोरिदमबाट सत्तामा आएकाहरूले देशलाई गलत दिशातर्फ लैजाने प्रयास गरिरहेको बताए।
उनले भने-‘आज देशमा बहुमतको नाममा अल्गोरिदमले सत्तामा आएकाहरूले युक्रेन बनाउने दिशामा लगिरहेका छन् । अब यही हलले यही नेतृत्वप्रति भरोसा गरेर जानुपर्छ। देश यहीँबाट बन्ने छ।’
आङ्देम्बेले यसपटकको बन्द सत्रमा पार्टीको नीति, सिद्धान्त र भावी कार्यदिशाबारे छलफल भएकाले महाधिवेशन आफूलाई नौलो लागेको बताए।
उनले भने- मैले देखेको विगतका बन्दसत्रमा कहिल्यै नीति, सिद्धान्त र भावी कार्यदिशाका बारेमा छलफल भएको देखेको थिइनँ। त्यसकारण यो मेरो लागि पनि कांग्रेसको नौलो महाधिवेशन हो । यसले कांग्रेसको नीति र सोचमा पनि बदलाव ल्याउने आशा राखेको छु।’
आङ्देम्बेले विगतमा कांग्रेसलाई बूढोहरूको पार्टी भन्ने गरिए पनि अहिले १८ वर्षका युवादेखि सबै उमेर समूहका मानिस पार्टीमा जोडिएको बताए।





