शुक्रबारसम्म हावाहुरी र असिनासहित भारी वर्षाको सम्भावना
काठमाडौं : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको समेत प्रभाव रहेको छ। जसका कारण काठमाडौं उपत्यकासहित देशको विभिन्न क्षेत्रमा बुधबार हावाहुरीसँगै मेघगर्जन, चट्याङ र वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी ३ दिन देशका विभिन्न भू–भागमा बदली, वर्षा, मेघगर्जनसहित चट्याङ, हावाहुरी तथा हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा पनि साधारणतया बदली तथा बाँकी तराई भू–भागमा आंशिक बदली रहनेछ।
हिमाली भू–भागका थोरै स्थान तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बिहीबार देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा साधारणतया बदली तथा बाँकी तराईमा आंशिक बदली रहनेछ।
कोशी र बागमती प्रदेशका हिमाली भू–भागका थोरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ। कोशी र बागमतीका पहाडी भू–भागका केही स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित हल्का वर्षा वा हिमपात हुन सक्नेछ।
शुक्रबार कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा साधारणतया बदली तथा बाँकी तराई भू–भागमा आंशिक बदली रहनेछ।कोशी,बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा र लुम्बिनीका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।
मधेशसहित कोशी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा बागमती, गण्डकी र लुम्बिनीका तराईका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्नेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भाग तथा कोशी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
शुक्रबार राति देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बदली तथा तराईमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्नेछ।





