कांग्रेस कास्की-२ को क्षेत्रीय सहसचिवमा प्रकाश कोइरालाको उम्मेदवारी
युवालाई अवसर, उद्यमशीलता प्रवर्द्धन र स्थानीय अर्थतन्त्र मजबुत बनाउने एजेन्डा
पोखरा । पोखरा महानगरपालिका वडा नं. ४ का वडा सदस्य प्रकाश कोइरालाले नेपाली कांग्रेस कास्की क्षेत्र नं. २ को क्षेत्रीय सहसचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।
स्थानीय तहमा जनप्रतिनिधिका रूपमा काम गर्दै जनतासँग प्रत्यक्ष रूपमा जोडिएर हासिल गरेको अनुभवलाई पार्टी संगठन सुदृढीकरणमा उपयोग गर्ने प्रतिबद्धतासहित कोइरालाले उम्मेदवारी दिएका हुन्।
युवालाई अवसर, उद्यमशीलतालाई प्रोत्साहन तथा स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने विषयलाई उनले आफ्नो प्रमुख एजेन्डा बनाएका छन्। साथै, पार्टी संगठनलाई समयसापेक्ष, गतिशील र ऊर्जावान बनाउँदै युवाहरूको सक्रिय सहभागिता बढाउने विषयलाई प्राथमिकतामा राखेको कोइरालाको भनाइ छ।
पोखरा महानगरपालिका वडा नं. ४ को वडा सदस्यमा निर्वाचित भएर स्थानीय तहमा काम गरेको अनुभवलाई पार्टी संगठन विस्तार र जनतासँगको सम्बन्ध थप मजबुत बनाउन उपयोग गर्ने उनले बताएका छन्।
कोइरालाले क्षेत्रीय प्रतिनिधिहरूसँग पार्टी संगठनलाई थप प्रभावकारी बनाउने आफ्नो योजना र एजेन्डाका आधारमा समर्थनका लागि आग्रह गरेका छन्।





