बाल उज्वल माविमा अभिनय कार्यशाला सुरु, २० दिनसम्म चल्ने

No ads found for this position
No ads found for this position

काभ्रे। विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले नमोबुद्ध नगरपालिकाको आयोजनामा वडा नं. १० स्थित बाल उज्वल माध्यमिक विद्यालयमा अभिनय प्रशिक्षण तथा नाटक लेखन कार्यशाला सुरु भएको छ ।

असोज ७ गतेदेखि औपचारिक रूपमा सुरु भएको यस कार्यशालामा नाटककार, रंगकर्मी तथा निर्देशक पुरु लम्साल प्रमुख प्रशिक्षकको रूपमा रहेका छन् ।

विद्यालयका प्रधानाध्यापक उद्धव सुवेदीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नमोबुद्ध नगरपालिका वडा नं. १० का वडाध्यक्ष रामकृष्ण उपाध्याय प्रमुख अतिथि रहेका थिए । त्यसैगरी, नगरपालिकाका महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख तारादेवी सुनुवार विशेष अतिथि हरेका कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक घनश्याम विश्वकर्माले गरेका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि वडाध्यक्ष उपाध्यायले यो कार्यशाला विद्यार्थीहरूको व्यक्तित्व विकासका लागि सुनौलो अवसर भएको बताए । उनले भने, “भाइबहिनीहरूले यसलाई आफ्नो भविष्यका लागि उपयोगी शिक्षाका रूपमा लिन सक्नुहुन्छ । यसले व्यक्तिको समग्र व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।”

कार्यशालाबाट अभिनय तथा लेखनको सीप सिकेर आगामी दिनमा टेलिचलचित्र, चलचित्र, नाटक र म्युजिक भिडियोजस्ता माध्यममा कला प्रस्तुत गर्ने अवसर मिल्ने विश्वास व्यक्त गर्दै उनले यसले बालबालिकाहरूलाई पढाइमा समेत थप केन्द्रित गराउन मद्दत पुगोस् भन्ने अपेक्षा राखे ।

त्यसैगरी, विशेष अतिथि एवम् नगरपालिकाका महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख तारादेवी सुनुवारले अभिनय कार्यशालाको आवश्यकता र औचित्यमाथि प्रकाश पार्दै यो कार्यक्रम नगरपालिकालाई ‘बालमैत्री नगरपालिका’ घोषणा गर्ने अभियानसँग जोडिएको बताए । उनले भने, “सधैँ बाहिरबाट कलाकारहरू ल्याएर नाटक देखाउनुभन्दा आफ्नै विद्यालयका भाइबहिनीहरूलाई सीप सिकाउनुमा ठूलो फरक हुन्छ । भोलि आवश्यकता पर्दा यी बालबालिका आफैँले नाटक तयार पार्न सकून् भन्ने प्रमुख उद्देश्य हो ।”

पहिलो दिनको कार्यशालामा ४६ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । तर, यतिका धेरै विद्यार्थीलाई एकसाथ तालिम सञ्चालन गर्न कठिनाइ हुने हुँदा अडिसनमार्फत २५ देखि २८ जना मात्र विद्यार्थी छनोट गरिने जानकारी प्रमुख प्रशिक्षक पुरु लम्सालले दिए। साथै, यस कार्यशालामा अभिनय प्रशिक्षणसँगै नाटक लेखन कार्यशालासमेत सञ्चालन हुने उनले जानकारी दिए ।

कार्यक्रमका अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक उद्धव सुवेदीले प्रमुख प्रशिक्षक पुरु लम्साल एक सिर्जनात्मक र सक्रिय रंगकर्मी रहेको उल्लेख गर्दै, उनिसँग भएको सीप र क्षमतालाई विद्यार्थीहरूले राम्रोसँग आत्मसात् गरी जीवनोपयोगी बनाउनेमा पूर्ण विश्वास व्यक्त गरे ।

२० दिनसम्म चल्ने यस कार्यशालाले स्थानीय तहमा कलाको विकासमा महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *