सामाजिक उत्तरदायित्वमा सक्रिय बन्दै ओरिएण्टल इंश्योरेंस, विपद्का बेला निरन्तर सहयोग
काठमाडौं । दि ओरिएण्टल इंश्योरेंस कम्पनी लिमिटेडले आफ्नो ८० औँ स्थापना दिवसको अवसरमा विशेष रक्तदान कार्यक्रम आयोजना गरेको छ। कम्पनीले आफ्नो स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै हरेक वर्ष नियमित रूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ।
रक्तदान कार्यक्रममा कम्पनीका कर्मचारी तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो। रक्तदान जीवन बचाउने महत्वपूर्ण मानवीय कार्य भएकाले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमलाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ।

ओरिएण्टल इंश्योरेंस बीमा व्यवसायमा मात्र सीमित नरही सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत सक्रिय रहँदै आएको छ। कम्पनीले शिक्षा, स्वास्थ्य तथा विपद्का समयमा प्रभावित नागरिकलाई सहयोग गर्दै आएको जनाएको छ।
पछिल्लो समय कम्पनीले विभिन्न विद्यालयलाई सहयोग गर्नुका साथै जाजरकोटमा गएको विपद्, जेनजी आन्दोलनका क्रममा प्रभावित नागरिक तथा रसुवामा आएको बाढीबाट प्रभावित परिवारलाई समेत सहयोग गरेको छ।
प्राकृतिक विपद् तथा कठिन परिस्थितिमा समुदायसँगै उभिने उद्देश्यले कम्पनीले विभिन्न राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। सामाजिक क्षेत्रमा आफ्नो उपस्थिति थप प्रभावकारी बनाउँदै लैजाने कम्पनीको योजना छ।
८० वर्ष लामो यात्रामा बीमा सेवाका साथै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै आएको ओरिएण्टल इंश्योरेंसले आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

दुःखद घडीमा बाढीपीडितसँग ऐक्यबद्ध हुन अध्यक्ष जोशीको सन्देशमार्फत आग्रह
यस्तै कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सञ्जय जोशीले भोटेकोशी बाढीबाट प्रभावित जनसमुदायलाई सहयोग गर्न सबैमा आग्रह गरेका छन्।
जोशीले दुःखद घटनाबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले रक्तदान शिविर आयोजना गरेको बताए। उनले विपद्को यस घडीमा राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा समेत योगदान गर्ने जानकारी दिए।
‘ऐक्यबद्धताको प्रतीकस्वरूप हामीले रक्तदान शिविर आयोजना गरेका हौँ। दुःखद घडीमा राहत तथा पुनःस्थापनाका लागि हामी प्रधानमन्त्री राहत कोषमा योगदान गर्नेछौँ,’ जोशीले भने।
उनले रक्तदान गर्ने तथा बाढीपीडितको सहयोगमा जुट्ने सबैप्रति हृदयदेखि धन्यवाद व्यक्त गरे। स्थापना दिवसलाई केवल आफ्नो यात्राको उत्सवका रूपमा नभई विपद्मा परेका नागरिकसँग ऐक्यबद्ध भएर उभिने अवसरका रूपमा लिनुपर्ने उनको भनाइ छ।
‘हाम्रो स्थापना दिवसलाई आफ्नो यात्राको उत्सव मनाउने अवसर मात्र नभई, दुःखको यस घडीमा आफ्ना सहनागरिकहरूसँग ऐक्यबद्ध भएर उभिने र उनीहरूको पुनःस्थापनामा अर्थपूर्ण योगदान गर्ने अवसरका रूपमा उपयोग गरौँ,’ जोशीले भने।
जोशी दि ओरिएण्टल इंश्योरेंस कम्पनी लिमिटेड नया दिल्लीका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् ।





