बाढीपीडितको आँसु पुछ्न मैदानमा उत्रिइन् कलाकार मेलीना ठकुरी
काठमाडौं । नेपाली मोडलिङ तथा अभिनय क्षेत्रकी स्थापित कलाकार मेलीना ठकुरी यति बेला नुवाकोटका बाढी पहिरो पीडितहरूको घाउमा मलम लगाउन व्यस्त छिन्।
पर्दामा आफ्नो कलामार्फत दर्शकको मन जित्दै आएकी ठकुरी अहिले वास्तविक जीवनमा ‘हिरो’ बनेर सामाजिक सेवामा होमिएकी हुन्। हालैको अविरल वर्षाका कारण नुवाकोटका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले स्थानीय बासिन्दाहरू प्रभावित भएका छन्।
पीडितहरूको सोही दर्दनाक अवस्थालाई मध्यनजर गर्दै कलाकार ठकुरीले कुनै बाह्य संस्था वा सरकारी पर्खाइ नगरी आफ्नै व्यक्तिगत खर्चमा राहत सामग्री जुटाएर काठमाडौंको माइतीघरमा पुगी राहत समाग्रीहरु प्रभावित क्षेत्रमा पठाउनमा सक्रिय बनेकी छिन्।
उनले बाढीपीडित परिवारहरूका लागि अत्यावश्यक खाद्यान्न, त्रिपाल, म्याट्रेस तथा प्राथमिक स्वास्थ्य उपचारका सामग्रीहरू आफैं खरिद गरी माइतीघरमा वितरणलागि पठाउनमा खटिएकी छिन्। राहत वितरणकै क्रममा कलाकार ठकुरीले सबैलाई मानवताको नाताले सहयोगी बन्न अपिल गरिन्।

ठकुरीले भनिन्, ‘तपाईंहरुपनि जो-जो जहाँ हुनुहुन्छ सकेको सहयोग गर्नुस् । तपाईंको सानो सहयोगले पनि बाहाँहरूलाई ठुलो राहत हुन्छ। दुःख, आपत् भन्ने कुरा कहाँ कतिखेर कसलाई पर्छ थाहा हुँदैन। पैसा पठाउनु भन्दा पनि पीडितकालागि अति आवश्यक सामानहरू पठाउन सकियो भने उनीहरूको लागि राम्रो हुन्छ। यस्तो बेला सबैले सहयोग गरौं।’
आफ्नो कार्य व्यस्ततालाई थाती राख्दै पीडितहरूको आँसु पुछ्न सक्रिय बनेकी मेलीनाको यो कामलाई आम नागरिकले सामाजिक सञ्जाल मार्फत उच्च प्रशंसा गरेका छन्। पर्दाको अभिनयबाट मात्र नभई संकटको घडीमा समाजप्रति देखाएको यो उत्तरदायित्वले मेलीना ठकुरीको परिचयलाई थप ओजिलो बनाएको छ। उनको यो कार्यले विपत्तिको समयमा साना-साना व्यक्तिगत प्रयासले पनि पीडितको जीवनमा ठुलो परिवर्तन ल्याउन सक्छ भन्ने सकारात्मक सन्देश समाजलाई दिएको छ।

उनी सुत्केरी आमा र बच्चाको सहयोगको लागि केही राहत लिएर नुवाकोट जाँदै छिन् ।





