एमाले बैठकमा मोबाइल प्रयोगमा निषेध, बोल्न चाहनेलाई ३ मिनेट समय
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरको भनिमण्डलस्थित पार्टी प्यालेसमा सुरु भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरेपछि बैठक सुरु भएको हो ।
ओलीले बैठकमा मोबाइल फोन प्रयोग नगर्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन् । उनले भोलिदेखि बैठक हल बाहिरै मोबाइल राख्ने व्यवस्था गरिने जानकारी दिए ।
‘केन्द्रीय कमिटीको बैठकमा कसैको पनि मोबाइल बिलकुलै नबजोस भन्ने आग्रह गर्छु । भोलिदेखि मोबाइल बैठक हल बाहिर राख्ने काम हुनेछ,’ ओलीले भने ।
उनले बैठकभित्र मोबाइल चलाउने, हेर्ने वा बजाउने अनुमति नहुने स्पष्ट पारे । बैठकमा नेता बोलिरहेका बेला मोबाइलमा कुरा नगर्न र मोबाइल निकालेर भिडियो खिच्न तथा रेकर्ड गर्नसमेत रोक लगाइएको उनले बताए ।
‘मोबाइल रेकर्ड मोडमा राख्न पाइने छैन । भिडियो मोडमा राख्न पाइने छैन । लाइभ गर्न पनि पाइँदैन,’ ओलीले भने ।’
बोल्न चाहनेलाई ३ मिनेट समय
बैठकमा एकजनालाई बोल्न तीन मिनेट समय पाउने भएका छन् । बैठकको सुरूमा सम्बोधन गर्दै अध्यक्ष केपी ओलीले ३ मिनेट समय निर्धारण गरिएको जानकारी गराए ।
बोल्न चाहने सबै केन्द्रीय सदस्यलाई बोल्न समय दिने पनि उनले बताए ।





